गुरु भण्डारी झण्डै ३ वर्षअगाडि घुम्नका लागि दुबई गएका थिए । उनी दुबईमा नै परिवारसहित बसेका आफ्नो साथीलाई भेट्न गए । साथीको भर्खरै बच्चा जन्मिएको रहेछ र बच्चाको न्वारन नेपालबाट भिडियोकलमा गर्ने योजना बनाएका रहेछन् । उनलाई त्यो चित्त बुझेन ।
‘हाम्रो संस्कृतिअनुसार न्वारन भनेको घर चोख्याउनका लागि हो । नेपालमा गरेर यहाँ कसरी चोखिन्छ ?,’ उनले साथीलाइ सम्झाए । उनीहरूले दुबईको वरदुबई भन्ने ठाउँमा मन्दिर र पूजासामग्री पसल छ भन्ने थाहा पाए । दुवै साथी पण्डित खोज्न त्यतै हानिए । तर, दुुर्भाग्य नेपाली पुरोहित भेटेनन् ।
‘त्यहाँ पण्डा मात्र भेटिए । (अलिअलि कर्मकाण्ड जानेका भारतीयलाई दुबईमा पण्डा भनेर चिनिदाेरहेछ) उनीहरूले नेपाली कर्मकाण्ड गर्न खासै जान्दैनन् । त्यहीँ पनि एक जना पण्डालाई आग्रह गर्यौँ । ती पण्डा बल्ल–बल्ल ८ सय दिराममा न्वारन गराउन राजी भए,’ उनले भने ।
विदेशमा नेपाली पुुरोहित उपलब्ध गराउन सके राम्रो व्यवसाय हुन्छ भन्ने उनलाई त्यही बेला लाग्यो । तर, विदेशमा पण्डित कसरी खोज्ने ?
उनको त्यो विचार विचारमै सीमित भयो । अर्को वर्ष उनी फेरि कतार घुम्न गए । संयोगवश उनले त्यहाँ पण्डित काम गरेर बसेका एक नेपाली भेटे । बुझ्दै जाँदा उनले त्यहाँ कर्मकाण्ड गरेर निकै राम्रो कमाइ गरेका रहेछन् ।
उनले एक वर्ष पुरानो योजनालाई मूर्त रूप दिने सोच बनाए । कतारबाट नेपाल फर्केपछि उनले केही साथीहरूसँग मिलेर जजमान र पुरोहित भेट गराउने अनलाइन प्लेटफर्म खोल्ने निर्णय गरे । प्लेटफर्म त खोल्ने तर नाम के राख्ने ? उनी घोत्लिए ।
‘हाम्रो पूर्वतिर कसैको घरमा पूजाआजा छ भने फलानोको घरमा कार्जे छ, त्यहीँ जान लागेको भन्छन् । यो टिपिकल नेपाली शब्द नै प्रयोग गर्ने निर्णय गरे,’ उनले भने ।
त्यसपछि भण्डारीले ज्योतिष जानेका अर्पण पोखरेल, कर्मकाण्ड जानेका योगेश अधिकारी र आईटी जानेका मौसम खनालसँग मिलेर डेढ वर्षअगाडि सुरु गरे ‘कार्जे’ । कार्जे वेबसाइट र एप दुवैमा उपलब्ध छ । यो अवधिमा उनीहरूको कम्पनीमा करिब ५ सय पण्डित आबद्ध छन् ।
उनीहरूको कम्पनीले जन्मदेखि मृत्यु संस्कारसम्मका काम गर्नसम्म चाहिने पुरोहित, ज्योतिषी, धार्मिक पुस्तक र पूजासामग्री उपलब्ध गराउँछ । विदेशमा पुरोहितको व्यवस्था गर्न कर्मकाण्ड पढेर पनि विदेश गएर मजदुरी गरिरहेका धेरै जनालाई उनीहरूले आफ्नो सम्पर्कमा जाेडेका छन् ।
‘यहाँ कर्मकाण्ड पढेका धेरै साथीहरू विदेशमा मजदुरी गर्नुहुँदोरहेछ । उहाँहरूलाई पनि पार्ट टाइममा राम्रो कमाइ हुने र नेपाली समुदायको काम पनि टर्ने भएकाले हामीले त्यस्तो मान्छे खोजेर आबद्ध गराई सेवा सुरु गरेका हौँ,’ उनले भने ।
त्यसैगरी, उनीहरूले पूजासामग्री पनि नेपालबाटै पठाउँछन् । ‘धेरै देशमा त पूजासामग्री पसल पहिलेदेखि नै सञ्चालनमै छ । तत्काल चाहिएको छ भने त्यहीँबाट उपलब्ध गराउँछौँ । चार/पाँच दिनमा चाहिएको हो भने यतैबाट कुरियर गरेर पठाउँदा सस्तो पर्छ ,’ भण्डारीले भने ।
हाल उनीहरूले अस्ट्रेलिया, अमेरिका, जापान, दुबई, कतारमा सेवा दिइरहेका छन् । दुबई, कतार, जापानबाट पुरोहितको धेरै माग आइरहेको उनले जानकारी दिए । त्यसैगरी, युरोपमा पनि सेवा सुरु गर्ने उनीहरूको तयारी छ । कम्पनीले यो सेवा विदेशमा मात्र होइन, नेपालमा पनि दिइरहेको छ । नेपालको शहरीक्षेत्रको समस्यालाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको उनले जानकारी दिए ।
‘नेपालमा पूर्व र पश्चिमको कर्मकाण्ड गर्ने तरिका केही फरक हुन्छ । त्यसकारण पूर्वको जजमानलाई त्यतैको पण्डित र पश्चिमकोलाई पश्चिमकै पण्डितले गराएको मात्र चित्त बुुझ्छ,’ उनले भने, ‘जजमानले हाम्रो वेबसाइटमा पण्डितको बायोडाटा हेरेर बोलाउन सक्नुहुन्छ ।’
वेबसाइटमा पण्डितको बायोडाटा, पारिश्रमिकलगायत सबै कुरा खुुलाइएको हुने भएकाले जजमानलाई अन्योल र पुुरोहितलाई पारिश्रमिक अपुुग नहुने उनले बताए । यति मात्र होइन, कम्पनीले पण्डित मात्र बोलाउने कि सबै सामग्रीसहित बोलाउने पनि व्यवस्था मिलाउँछ ।
‘उदाहरणका लागि कसैले सबै सामग्रीसहित एउटा श्राद्ध गराउन पुुरोहित बोलायो भने, त्यसको सुरुवाती शुल्क ४ हजार ५ सय छ । त्यसमा पुरोहितको पारिश्रमिक, त्यहाँ राख्ने फलफूल, बत्ती, चढाउने पैसा, चामल, धुप, नैबेद्यलगायत सबै सामग्री कम्पनीले व्यवस्था गर्छ,’ उनले भने ।
कसैलाई पुुरोहितको मात्र आवश्यकता पर्यो भने पनि कम्पनीले व्यवस्था मिलाउँछ । कम्पनीले प्रत्येक कार्यमा स्मल, मिडियम र लार्ज गरी तीनवटा क्याटगोरी छुट्याएको छ ।
‘सबै जजमानले धेरै दान गर्न सक्छ भन्ने छैन र सबैले थोरै गर्छ भन्ने पनि छैन । त्यसकारण हामीले तीनवटा क्याटगोरी छुट्याएका छौँ,’ उनले भने, ‘कार्य गर्ने तरिका एउटै हो तर कसैले दुई माना चामल हाल्न सक्छ भने कसैलाई चार माना हाल्न मन लाग्ला । त्यही भएर क्याटगोरी बनाएका हौँ ।'
यो कामबाट उनीहरूले आयस्रोत पनि खोजेका छन् ।
‘हामीले पूजासामग्री बजारभाउभन्दा सस्तोमा बेच्दा पनि नाफा बस्छ । पुरोहितको पारिश्रमिकबाट १५ प्रतिशत हामी लिन्छौँ र पुरोहितको कर पनि हामी नै तिरिदिन्छौँ,’ उनले भने, ‘यो क्षेत्र अझै करको दायरामा आएको छैन । महिनाको लाखौँ कमाउने पण्डितहरू पनि हुनुहुन्छ । हामीले कर तिर्ने सुरुवात गर्यौँ । बिस्तारै यसमा सरकारको नजर पनि जाला नि त,’ उनले भने ।
कार्जे डटकममार्फत कर्मकाण्डक्षेत्रलाई औपचारिक र पारदर्शी बनाउने कम्पनीको उद्देश्य छ । अहिले थोरै पुरोहित आबद्ध भए पनि भविष्यमा यसलाई विश्वभरका नेपालीका लागि सेवा दिने प्लेटफर्म बनाउने उनीहरूको योजना छ ।
Add New Comment